दफा
सशस्त्र प्रहरीको सञ्चालन
:
(१) नेपाल सरकारले देहाय बमोजिमका कार्य गर्ने प्रयोजनको लागि सशस्त्र प्रहरी सञ्चालन गर्नेछ :–
(क) नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न,
(ख) नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न,
(ग) नेपाल को कुनै भागमा भएको वा हुन सक्ने आतङ्ककारी गतिविधि नियन्त्रण गर्न,
(घ) नेपालको कुनै भागमा भएको वा हुन सक्ने दङ्गा नियन्त्रण गर्न,
(ङ) नेपालको कुनै भागमा भएको वा हुन सक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुयाउन,
(च) नेपालको कुनै नागरिक वा अरू कसैलाई अपरहण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भीर अपराध घटेमा वा गम्भीर प्रकृतिको अशान्ति भएमा वा हुने आशङ्का भएमा त्यसलाई नियन्त्रण गर्न,
(छ) नेपालको सीमा सुरक्षा गर्न,
(ज) वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न,
(झ) नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न,
(ञ) नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठह¥याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न,
(ट) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानुनबमोजिम तोकिएका कार्यहरू गर्न,
(ठ) नेपाल सरकारले समय समयमा तोकेबमोजिमका अन्य कार्यहरू गर्न ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले नेपाल को कुनै भागमा सशस्त्र प्रहरी सञ्चालन गरेकोमा हप्तामा कम्तीमा एकपटक त्यस क्षेत्रमा सञ्चालन भएका सशस्त्र प्रहरीको संख्या र सशस्त्र प्रहरीले गरिरहेको काम कारबाहीको सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्र केन्द्रीय सुरक्षा समितिलाई जानकारी गराउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम नेपाल सरकारलाई प्राप्त अधिकार नेपाल सरकारले मातहतका कुनै विशिष्ट श्रेणीको अधिकारीलाई आवश्यकता अनुसार प्रत्यायोजन गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम अधिकार प्राप्त अधिकारीले नेपालको कुनै भागमा सशस्त्र प्रहरी सञ्चालन गरेकोमा हप्तामा कम्तीमा एकपटक त्यस क्षेत्रमा सञ्चालन भएका सशस्त्र प्रहरीको संख्या र सशस्त्र प्रहरीले गरिरहेको काम कारवाहीको सम्बन्धमा नेपाल सरकारलाई जानकारी गराउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम प्राप्त जानकारी नेपाल सरकारले राष्ट्रिय सुरक्षा परिषद्र केन्द्रीय सुरक्षा समितिलाई दिनु पर्नेछ ।